Pages

Tuesday, August 16, 2016

नल्लु र नल्लुवासीको विकास किन सुस्त ?

१. शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप :
नल्लुका हरेक विद्यालयहरु राजनीतिले छोएका छन् । यो वा त्यो दलको भनेर कहलिएका छन् यहाँका विद्यालयहरु । तल्लो नल्लु र वत्तिस्योङको स्कूलको वोर्ड परिक्षा कांग्रेस निकट वोर्डबाट प्रश्नोत्तर तयार हुन्छ भने ढुंगे स्कूलमा एमाले निकट वोर्डबाट प्रश्नोत्तर तयार हुने गरेको छ । शिक्षकहरु शिक्षा क्षेत्रको विकासमा सामेल हुनु पर्नेमा राजनीतिक दलको झोला बोकेर हिंड्दै गरेको अवस्था छ । पार्टीको वैठकमा सामेल हुने र आफ्नो पार्टीको लागि जनता किन्ने रणनीतिमा लागेका शिक्षकहरुले गाउँको शिक्षामा कसरी परिवर्तन ल्याउन सक्ला र भन्ने प्रश्न उठेको छ ।  लोकतान्त्रिक आन्दोलनसंगै तामाङ भाषामा  पढाउन सकिने राज्यले दिएको सुविधा पनि यहाँ प्रयोगमा ल्याउन नसकिनु ठुलो कमजोरी भएको छ ।
२.राजनीतिको नाममा औंठा छापहरुको रंजाई :
राजनीति भनेको शिद्धान्तमुखी हुनु पर्छ । जुन दलमा आवद्ध भएको हो त्यो दलको राजनीतिक दस्तावेज के हो राम्ररी पढेको हुनु पर्छ । तर विडम्बनाको कुरा यहाँ कागजमा ल्याप्चे ठोक्न मात्रै जान्ने नेताहरुको विक्बिकी छ । यस्ता ल्याप्चेवाल नेताहरुले कुनै वैठकमा तार्किक मन्तव्य राख्न सक्दैनन् र आफैं राजीतिक अनविज्ञतामा परेकोले अरुलाई पाठ सिकाउन सक्ने कुरै भएन । गाउँको विकासको लागि केन्द्र वा जिल्लास्तरमा जुन प्रयास गरेर वजेट तान्न सक्नु पर्ने हो त्यो विवेक र चातुर्यता यहाँको नेताले देखाउन सकेका छैनन् जसले गर्दा गाउँ एउटा फोहोरको कन्टेनरमा परिवर्तन भएको छ ।
३.शिक्षाभन्दा जुवातास अनि जाँड-रक्सीमा लगानी :
आजको आधुनिक प्रतिष्पर्धात्मक युग शिक्षाको युग हो । विगतको कुरालाई भुलेर कमसेकम आजका सबै बालबालिकाले शिक्षाको उज्यालो पाएको खण्डमा नयाँ सोच र नयाँ संचार पैदा हुन सक्थ्यो । तर दु:खको कुरा अहिले पनि नल्लुमा नयाँ पुस्ताको ठुलो हिस्सा शिक्षाबाट वन्चित भइरहेका छन् । छोरा-छोरीलाई शिक्षा दिनुको साटो पसलमा जाँड-रक्सी र जुवा तासमा दिन बिताइरहेकोले  गाउँको अवस्थालाई  दयनीय बनाएको छ । छोरा-छोरीहरु स्कुल जान नपाएर घरायसी कामकाजमा जोतिरहनु भनेको नयाँ युगलाई अपाच्य छ ।
४. तामाङहरु दलका झोले नेता-कार्यकर्ता बने तर तामाङ बन्न सकेनन् : 
तामाङहरुको ९५ % बसोबास रहेको यो गाउँमा हामी तामाङ हौँ र हाम्रो अधिकार र पहिचानको लागि हामी मिलेर लड्नु पर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । बरु उल्टै तँ कांग्रेस, तँ माओवादी, तँ एमाले भन्ने आरोप र झगडामै हामी अल्झिरहेका छौं । दलको झण्डा बोक्नु बेठिक नहोला तर हामीले तामाङको अधिकारको लागि आफ्नो पार्टीभित्र के कुरा उठायौं त त्यो महत्वपूर्ण कुरा हो । एक चोटी हामीले आफ्नो दलको सिमाभन्दा माथि उठेर सोच्नु पर्ने बेला आइसकेको छ । जुनसुकै दलमा लागे पनि प्रतिशोधको भावना त्यागेर तामाङ जनताको उत्थान र मुक्तिको लागि एकजुट भएर लड्नु पर्ने बेला आएको छ ।
५.धर्म बौद्ध ,संस्कार हिन्दु :
२४५ वर्षदेखि निरंकुश एकात्मक राज्यसत्ताले लादेको हिन्दुवाद नल्लुमा जरो गाडेर बसेको छ । धेरैले आफ्नो घरमा दर्ज्यु-ल्हाम्दर राखेकै छैनन् भने राखेकाहरुले पनि हिन्दु चाडहरु उत्साहका साथ मनाइरहेका छन् । ल्होछार ,बुद्ध जयन्ति नमनाएर दशैँ-तिहारमा रमाईरहेका छन् । कतिपयले आफ्नो धर्म नै हिन्दु हो भन्दै हिंडीरहनुले यहाँको सामाजिक अज्ञानता प्रष्ट हुन्छ । हामीले गुम्बा निर्माणमा जोड दिनु पर्ने ,वजेट बुद्ध धर्मको प्रवर्द्धन र संरक्षणको लागि पार्न पहल गर्नु पर्नेमा उल्टै हिन्दु मठमन्दिरको लागि  वजेट मागिरहेका छौं । जान-अन्जान हिन्दु धर्मको  प्रवर्द्धन गर्नु पर्छ भनेर कतिपय लागेका पनि होलान् । यहाँ धार्मिक र संस्कृतिक चेतनाको व्यापक अभाव देखिएको छ।

          तसर्थ: नल्लुको विकासको लागि शिक्षा र चेतनाको ज्यादै अभाव देखिन्छ । आफ्नो धर्म ,परम्परा र इतिहासको खोजि गर्नु पर्ने बेलामा हामी पार्टीको झोला बोकेर हिंडिरहेका छौं । गाउँको विकास र आधुनिक रुपान्तरणको लागि हामी सबैको साझा समझदारी र आपसी सहयोगको ठुलो खाँचो छ । दलगत स्वार्थबाट माथि उठेर ,परम्परागत हिन्दु संस्कार त्यागेर अनि जाँड-राक्तिको लतबाट गाउँलाई छुट्याएर मात्रै नयाँ आधुनिक नल्लुको  निर्माण गर्न सक्छौं । प्रकृतिले  विशिष्ट वरदान दिएको नल्लु गाउँको विकास र निर्माणमा सबै जना एकजुट भएर लाग्नुको विकल्प छैन ।










Saturday, August 13, 2016

एउटा जड्याहा गाउँ हो नल्लु ,रक्सीको फ्याक्ट्री नै हो नल्लु


करिब ९५ % तामाङ जातिको बसोबास रहेको ललितपुर जिल्लाको  नल्लु गाविसको अर्को नाम हो रक्सी फ्याक्ट्री ।काठमाण्डौबाट २० किलोमिटर दक्षिणी भेगमा अवस्थित यस गाउँमा तामाङ जातिको बाक्लो चहलपहल र रितिरिवाजहरु देख्न सकिन्छ  ।घलान, स्याङ्तान ,थिङ, लोप्चन ,बल आदि थरका तामाङहरुको यहाँ बसोबास रहेको छ ।शैक्षिक अवस्था अत्यन्त नाजुक रहेको यो गाउँमा तामाङ जातिहरुलाई आफ्नो पहिचान ,रितिरिवाज र राजनीतिक अधिकारको बारेमा अत्यन्त कम चेतना  रहेको कारणले गर्दा Bank Voter को रुपमा मात्र यहाँको जनतालाई प्रयोग गरिंदै आएको छ । चुनावको बेलामा यहाँका तामाङहरुलाई  १-२ बोतल रक्सीको भरमा किनबेच गरेको तथ्य छर्लङ्गै छ । जाँड-रक्सिको प्रचुर सेवनमा दिन बिताउने यहाँ थुप्रै मानिसहरु भेटिन्छ र झट्ट हेर्दा सिङ्गै गाउँनै रक्सीको टिल्ल परेको जड्याह गाउँ जस्तो देखिन्छ ।जाँड-रक्सी सेवन गर्नकै लागि पैसाको लागि  अत्यन्त सस्तो मोलमा थुप्रै तामाङहरुले आफ्नो जग्गा बेचेर ठगिएका छन् । प्राकृतिक हरियाली र सौन्दर्यता विशिष्ट खानी रहे ता  पनि  यस गाउँलाई अन्धार बनाउनुमा जाँड-रक्सिले  प्रमुख भूमिका खेलेको छ ।अधिकांश मानिसहरु जाँड-रक्सीकै कारण  कलेजो खराब भएर ५० वर्षको हाराहारीमा मर्नु भनेको अत्यन्त दुखद् कुरा हो  । जाँड रक्सीलाई आफ्नो परम्परा अनुसार चलाउनु ठिकै होला तर आफ्नै जिन्दगीलाई जाँडको घ्याम्पोभित्र घोप्ट्याउनु कद्दापी राम्रो हुन सक्दैन ।जाँड-रक्सी खाएर आफ्नो जिन्दगी मात्रै होइन आफ्ना छोरा-छोरी ,परिवार ,टोलवासी सबैको जिन्दगी धरापमा पार्नु राम्रो हुनै सक्दैन जसको बोध अब सबै गाउँवासीमा हुनु नितान्त जरुरी छ  ।अत: सबैले आफ्नो जिन्दगी ,आत्मा-सम्मान र गाउँको  समेत इज्जतको लागि जाँड रक्सी छोड्न र छोड़ाउन विशेष पहल गर्नु जरुरी छ ।  
त्यसो त दु:खको साथ भन्नु पर्छ रक्सी उत्पादन गरेर शहरमा लगेर बेच्नु नल्लुको प्रमुख आयश्रोत हो । रक्सी उत्पादनको फ्याक्ट्री मानिने यो गाउँको यो पेशाको अन्त्य गर्नु अत्यन्त जरुरी छ ।रक्सी उत्पादन बन्द गरेर व्यावसायिक कृषि गर्न नल्लुको  भूमि अत्यन्त अनुकुल छ । गाउँको परिवर्तन चुनावको बेलामात्रै गाउँमा आउने भिकारी  नेताको भाषणले हुनै सक्दैन ।यो गाउँको परिवर्तन ल्याउन पहिला जाँड-रक्सीमा नियन्त्रण गर्नु जरुरी देखिन्छ जुन गाउँको पढे-लेखेका युवाहरुबाट सुरुवात गर्नु जरुरी छ ।नल्लु गाउँलाई जाँड-रक्सीको नशाबाट छुटाउन र सुन्दर तामाङ गाउँ बनाउन  आ-आफ्नो ठाउँबाट सहयोग गरौँ । हामी ठगिने होइन अब हामीले अरुलाई मुर्ख बनाउनु पर्ने दिन आइसकेको छ ।जागौं तामाङ जागौं