Pages

Sunday, December 11, 2016

तामाङ जाति संरक्षित केन्द्र "कोन्जेसोम "


ललितपुर जिल्लाको दक्षिणी भेकका ५ वटा तामाङ बाहुल्य गाविसहरुलाई मिलाएर " कोन्जेसोम " गाउँपालिका बन्ने भएको छ ।तामाङ जातिको अत्याधिक बाहुल्यता रहेको नल्लु ,भार्देव, चौघरे ,शंखु र दल्चोकी गाविसलाई तामाङ जाति संरक्षित केन्द्रको रुपमा "कोन्जेसोम " गाउँपालिका प्रस्ताव गरिएको छ। तामाङ बाहुल्य क्षेत्रहरुलाई समेटिएर गाउँपालिका बन्नु र त्यसमा पनि तामाङ भाषामै नामकरण गर्न सकिनु आफैंमा ठुलो उपलब्धि हो ।स्थानीय निकाय पुनःसंरचना प्राविधिक समितिले सात तहको प्रस्तावित खाका स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाएको छ जसमा करिव १५ हजार जनसंख्या रहेको कोन्जेसोम गाउँपालिका समिटिएको छ।नल्लु र चौघरेको सिमाना काम्लेचौर गाउँ पालिका केन्द्र बन्ने भएको छ ।
नल्लु गाविसको हालको वडा नं १,२,६ र ७ को वडा केन्द्र चन्दाघाट झोलुंगेपुल र ३,४,५,८ र ९ लाई गाविस भवन नाम्सा प्रस्ताव गरिएको छ ।भारदेउको १,२,६ र ७ वडालाई रेडक्रस भवन र बाँकी वडाहरुलाई पौवाचौर प्रस्ताव गरिएको छ ।चौघरेको १,२,३,७ र ८ वडा को सिमभन्ज्याङ र बाँकी वडाहरुको वडा केन्द्र काम्लेचौर रहने भएको छ । शंखुको माथिल्लोको वडा केन्द्र मगरगाउँ वडाकेन्द्र प्रस्ताव गरिएको छ ।दल्चोकी ४,५,७ र ९ को वडा केन्द्र खहरे र बाँकीको हालको गाविस भवननै कायम हुने छ । प्रस्तावित कोन्जेसोम गाउँपालिकामा जम्मा १० वटा वडाहरु रहनेछन् जसमा नल्लुमा १ र २ ,भारदेउमा ३ र ४ ,चौघरेमा ५ र ६ ,शंखुमा ७ र ८, अनि दल्चोकीमा ९ र १० रहनेछन् । नेपाल सरकारले प्रस्ताव गरिएको दलचोकीदेखिको ट्रेकिङ रुट ,चौघरेको राष्ट्रिय ढुंगा खानी यसै गाउँ पालिका मा रहेको छ । काठमाडौं उपत्यका र हिमाली दृश्यावलोकन गर्न सकिने उच्चा पहाडी रेन्जहरु यहाँको विशेषता हो ।चिसो मौसम ,खुल्ला आकास र समृद्ध तामाङ परम्परा यहाँको आकर्षण र गहना हो । 

Tuesday, August 16, 2016

नल्लु र नल्लुवासीको विकास किन सुस्त ?

१. शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप :
नल्लुका हरेक विद्यालयहरु राजनीतिले छोएका छन् । यो वा त्यो दलको भनेर कहलिएका छन् यहाँका विद्यालयहरु । तल्लो नल्लु र वत्तिस्योङको स्कूलको वोर्ड परिक्षा कांग्रेस निकट वोर्डबाट प्रश्नोत्तर तयार हुन्छ भने ढुंगे स्कूलमा एमाले निकट वोर्डबाट प्रश्नोत्तर तयार हुने गरेको छ । शिक्षकहरु शिक्षा क्षेत्रको विकासमा सामेल हुनु पर्नेमा राजनीतिक दलको झोला बोकेर हिंड्दै गरेको अवस्था छ । पार्टीको वैठकमा सामेल हुने र आफ्नो पार्टीको लागि जनता किन्ने रणनीतिमा लागेका शिक्षकहरुले गाउँको शिक्षामा कसरी परिवर्तन ल्याउन सक्ला र भन्ने प्रश्न उठेको छ ।  लोकतान्त्रिक आन्दोलनसंगै तामाङ भाषामा  पढाउन सकिने राज्यले दिएको सुविधा पनि यहाँ प्रयोगमा ल्याउन नसकिनु ठुलो कमजोरी भएको छ ।
२.राजनीतिको नाममा औंठा छापहरुको रंजाई :
राजनीति भनेको शिद्धान्तमुखी हुनु पर्छ । जुन दलमा आवद्ध भएको हो त्यो दलको राजनीतिक दस्तावेज के हो राम्ररी पढेको हुनु पर्छ । तर विडम्बनाको कुरा यहाँ कागजमा ल्याप्चे ठोक्न मात्रै जान्ने नेताहरुको विक्बिकी छ । यस्ता ल्याप्चेवाल नेताहरुले कुनै वैठकमा तार्किक मन्तव्य राख्न सक्दैनन् र आफैं राजीतिक अनविज्ञतामा परेकोले अरुलाई पाठ सिकाउन सक्ने कुरै भएन । गाउँको विकासको लागि केन्द्र वा जिल्लास्तरमा जुन प्रयास गरेर वजेट तान्न सक्नु पर्ने हो त्यो विवेक र चातुर्यता यहाँको नेताले देखाउन सकेका छैनन् जसले गर्दा गाउँ एउटा फोहोरको कन्टेनरमा परिवर्तन भएको छ ।
३.शिक्षाभन्दा जुवातास अनि जाँड-रक्सीमा लगानी :
आजको आधुनिक प्रतिष्पर्धात्मक युग शिक्षाको युग हो । विगतको कुरालाई भुलेर कमसेकम आजका सबै बालबालिकाले शिक्षाको उज्यालो पाएको खण्डमा नयाँ सोच र नयाँ संचार पैदा हुन सक्थ्यो । तर दु:खको कुरा अहिले पनि नल्लुमा नयाँ पुस्ताको ठुलो हिस्सा शिक्षाबाट वन्चित भइरहेका छन् । छोरा-छोरीलाई शिक्षा दिनुको साटो पसलमा जाँड-रक्सी र जुवा तासमा दिन बिताइरहेकोले  गाउँको अवस्थालाई  दयनीय बनाएको छ । छोरा-छोरीहरु स्कुल जान नपाएर घरायसी कामकाजमा जोतिरहनु भनेको नयाँ युगलाई अपाच्य छ ।
४. तामाङहरु दलका झोले नेता-कार्यकर्ता बने तर तामाङ बन्न सकेनन् : 
तामाङहरुको ९५ % बसोबास रहेको यो गाउँमा हामी तामाङ हौँ र हाम्रो अधिकार र पहिचानको लागि हामी मिलेर लड्नु पर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । बरु उल्टै तँ कांग्रेस, तँ माओवादी, तँ एमाले भन्ने आरोप र झगडामै हामी अल्झिरहेका छौं । दलको झण्डा बोक्नु बेठिक नहोला तर हामीले तामाङको अधिकारको लागि आफ्नो पार्टीभित्र के कुरा उठायौं त त्यो महत्वपूर्ण कुरा हो । एक चोटी हामीले आफ्नो दलको सिमाभन्दा माथि उठेर सोच्नु पर्ने बेला आइसकेको छ । जुनसुकै दलमा लागे पनि प्रतिशोधको भावना त्यागेर तामाङ जनताको उत्थान र मुक्तिको लागि एकजुट भएर लड्नु पर्ने बेला आएको छ ।
५.धर्म बौद्ध ,संस्कार हिन्दु :
२४५ वर्षदेखि निरंकुश एकात्मक राज्यसत्ताले लादेको हिन्दुवाद नल्लुमा जरो गाडेर बसेको छ । धेरैले आफ्नो घरमा दर्ज्यु-ल्हाम्दर राखेकै छैनन् भने राखेकाहरुले पनि हिन्दु चाडहरु उत्साहका साथ मनाइरहेका छन् । ल्होछार ,बुद्ध जयन्ति नमनाएर दशैँ-तिहारमा रमाईरहेका छन् । कतिपयले आफ्नो धर्म नै हिन्दु हो भन्दै हिंडीरहनुले यहाँको सामाजिक अज्ञानता प्रष्ट हुन्छ । हामीले गुम्बा निर्माणमा जोड दिनु पर्ने ,वजेट बुद्ध धर्मको प्रवर्द्धन र संरक्षणको लागि पार्न पहल गर्नु पर्नेमा उल्टै हिन्दु मठमन्दिरको लागि  वजेट मागिरहेका छौं । जान-अन्जान हिन्दु धर्मको  प्रवर्द्धन गर्नु पर्छ भनेर कतिपय लागेका पनि होलान् । यहाँ धार्मिक र संस्कृतिक चेतनाको व्यापक अभाव देखिएको छ।

          तसर्थ: नल्लुको विकासको लागि शिक्षा र चेतनाको ज्यादै अभाव देखिन्छ । आफ्नो धर्म ,परम्परा र इतिहासको खोजि गर्नु पर्ने बेलामा हामी पार्टीको झोला बोकेर हिंडिरहेका छौं । गाउँको विकास र आधुनिक रुपान्तरणको लागि हामी सबैको साझा समझदारी र आपसी सहयोगको ठुलो खाँचो छ । दलगत स्वार्थबाट माथि उठेर ,परम्परागत हिन्दु संस्कार त्यागेर अनि जाँड-राक्तिको लतबाट गाउँलाई छुट्याएर मात्रै नयाँ आधुनिक नल्लुको  निर्माण गर्न सक्छौं । प्रकृतिले  विशिष्ट वरदान दिएको नल्लु गाउँको विकास र निर्माणमा सबै जना एकजुट भएर लाग्नुको विकल्प छैन ।










Saturday, August 13, 2016

एउटा जड्याहा गाउँ हो नल्लु ,रक्सीको फ्याक्ट्री नै हो नल्लु


करिब ९५ % तामाङ जातिको बसोबास रहेको ललितपुर जिल्लाको  नल्लु गाविसको अर्को नाम हो रक्सी फ्याक्ट्री ।काठमाण्डौबाट २० किलोमिटर दक्षिणी भेगमा अवस्थित यस गाउँमा तामाङ जातिको बाक्लो चहलपहल र रितिरिवाजहरु देख्न सकिन्छ  ।घलान, स्याङ्तान ,थिङ, लोप्चन ,बल आदि थरका तामाङहरुको यहाँ बसोबास रहेको छ ।शैक्षिक अवस्था अत्यन्त नाजुक रहेको यो गाउँमा तामाङ जातिहरुलाई आफ्नो पहिचान ,रितिरिवाज र राजनीतिक अधिकारको बारेमा अत्यन्त कम चेतना  रहेको कारणले गर्दा Bank Voter को रुपमा मात्र यहाँको जनतालाई प्रयोग गरिंदै आएको छ । चुनावको बेलामा यहाँका तामाङहरुलाई  १-२ बोतल रक्सीको भरमा किनबेच गरेको तथ्य छर्लङ्गै छ । जाँड-रक्सिको प्रचुर सेवनमा दिन बिताउने यहाँ थुप्रै मानिसहरु भेटिन्छ र झट्ट हेर्दा सिङ्गै गाउँनै रक्सीको टिल्ल परेको जड्याह गाउँ जस्तो देखिन्छ ।जाँड-रक्सी सेवन गर्नकै लागि पैसाको लागि  अत्यन्त सस्तो मोलमा थुप्रै तामाङहरुले आफ्नो जग्गा बेचेर ठगिएका छन् । प्राकृतिक हरियाली र सौन्दर्यता विशिष्ट खानी रहे ता  पनि  यस गाउँलाई अन्धार बनाउनुमा जाँड-रक्सिले  प्रमुख भूमिका खेलेको छ ।अधिकांश मानिसहरु जाँड-रक्सीकै कारण  कलेजो खराब भएर ५० वर्षको हाराहारीमा मर्नु भनेको अत्यन्त दुखद् कुरा हो  । जाँड रक्सीलाई आफ्नो परम्परा अनुसार चलाउनु ठिकै होला तर आफ्नै जिन्दगीलाई जाँडको घ्याम्पोभित्र घोप्ट्याउनु कद्दापी राम्रो हुन सक्दैन ।जाँड-रक्सी खाएर आफ्नो जिन्दगी मात्रै होइन आफ्ना छोरा-छोरी ,परिवार ,टोलवासी सबैको जिन्दगी धरापमा पार्नु राम्रो हुनै सक्दैन जसको बोध अब सबै गाउँवासीमा हुनु नितान्त जरुरी छ  ।अत: सबैले आफ्नो जिन्दगी ,आत्मा-सम्मान र गाउँको  समेत इज्जतको लागि जाँड रक्सी छोड्न र छोड़ाउन विशेष पहल गर्नु जरुरी छ ।  
त्यसो त दु:खको साथ भन्नु पर्छ रक्सी उत्पादन गरेर शहरमा लगेर बेच्नु नल्लुको प्रमुख आयश्रोत हो । रक्सी उत्पादनको फ्याक्ट्री मानिने यो गाउँको यो पेशाको अन्त्य गर्नु अत्यन्त जरुरी छ ।रक्सी उत्पादन बन्द गरेर व्यावसायिक कृषि गर्न नल्लुको  भूमि अत्यन्त अनुकुल छ । गाउँको परिवर्तन चुनावको बेलामात्रै गाउँमा आउने भिकारी  नेताको भाषणले हुनै सक्दैन ।यो गाउँको परिवर्तन ल्याउन पहिला जाँड-रक्सीमा नियन्त्रण गर्नु जरुरी देखिन्छ जुन गाउँको पढे-लेखेका युवाहरुबाट सुरुवात गर्नु जरुरी छ ।नल्लु गाउँलाई जाँड-रक्सीको नशाबाट छुटाउन र सुन्दर तामाङ गाउँ बनाउन  आ-आफ्नो ठाउँबाट सहयोग गरौँ । हामी ठगिने होइन अब हामीले अरुलाई मुर्ख बनाउनु पर्ने दिन आइसकेको छ ।जागौं तामाङ जागौं 

Saturday, July 9, 2016

खुल्ला दिशामुक्त क्षेत्र घोषणा तर्फ नल्लु गाविस

         यही असार १४ र १५ गते जिल्ला विकास समिति ललितपुरको आयोजनामा गाविस भवन नल्लुमा VWAS CC गठन भएको छ । नल्लुलाई खुल्ला दिशा मुक्त घोषणा गर्नको लागि गठन गरिएको उक्त समितिमा ३३ जना गाविस प्रतिनिधिहरु रहेकाछन् ।बैठकको निर्णय अनुसार यहि भदौ ३१ गते नल्लुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिनेछ ।भदौ १५ गतेसम्ममा प्रत्येक घरमा प्यान पाइपसहितको पक्की शौचालय निर्माण गरिसक्नु पर्ने छ ।शौचालय निर्माण पश्चात् प्रत्येक घरलाई हरियो कार्ड वितरण गरिनेछ ।खानेपानी तथा सरसफाई डिभिजनको सहयोगमा प्यान र पाइप निशुल्क प्रदान गर्ने योजना छ भने बाँकि खर्च व्यक्ति आफैंले गर्नुपर्ने छ ।भदौ १६ गतेदेखि ३० सम्म अनुगमन गरिनेछ भने ३१ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिनेछ ।गाविसको यस अभियानलाई अवज्ञा गर्नेहरुलाई गाविसबाट प्रदान गरिने सम्पुर्ण सेवासुविधाहरुबाट वञ्चित गराइने छ ।अवज्ञा गर्नेहरुले गाविस सिफारिस ,व्यक्तिगत घटना दर्ता ,भुकम्प राहत जस्ता कुनै पनि सुविधा दिइनेछैन ।